माधव नेपाल, बीबीसी नेपाली सेवा

नेपालमा उत्पादित कफी अन्तर्राष्ट्रिय रूपमा “उच्च स्तरको” पाइएको भन्ने समाचार सार्वजनिक भएको छ, कफी उत्पादनको दर भने त्यति सन्तोषजनक नभएको अधिकारीहरूले बताएका छन्।

करिब चार दशकअघि पश्चिमी पहाडी जिल्ला गुल्मीबाट नेपालमा व्यवसायिकरूपमा कफी उत्पादन सुरु गरिएको बताइन्छ। तर अहिलेसम्म नेपालमा वार्षिकरूपमा ५ सय मेट्रिक टनको हाराहारीमा मात्र कफी उत्पादन हुने गरेको अधिकारीहरूको भनाइ छ।

लामो समयदेखि गुल्मीको आँपचौरमा व्यवसायिक कफी खेती गर्दै आएका परशुराम आचार्य नेपालमा उत्पादित कफीलाई विश्व बजारले गुणस्तरीय ठाने पनि कफी खेतीप्रति सरकारी निकायको बेवास्ता गर्दा कफी किसानहरू उत्साहित हुन नसकेको बताउँछन्।

उनका अनुसार सरकारले कफी खेतीलाई प्रोत्साहन गर्ने हो भने नेपालमा कफी खेतीका प्रशस्त सम्भावना रहेको छ।

उनले भने, “सरकारले कफी किसानलाई राम्रो सहयोग गर्ने हो भने उत्पादन अझै बढाउन सकिन्छ।”

नेपाल चिया तथा कफी विकास बोर्डले नेपाली कफीको गुणस्तरका बारेमा हालै एक रिपोर्ट सार्वजनिक गर्दै यो वर्ष अर्थात् सन २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० अंक पाएको वताएको छ।

बोर्डका अनुसार त्यो अंक छिमेकी मुलुक भारत र चीनले पाएकोभन्दा बढी हो।

विगत पाँच वर्षदेखि नेपाली कफीलाई अन्तर्राष्ट्रिय परीक्षणमा पठाउन थालिएको हो। यो वर्ष लेकाली कफी स्टेट नुवाकोटले पहिलो पटक त्यति धेरै अंक पाएको बोर्डका निर्देशक दीपक खनालले वताए।

पछिल्लो परीक्षणले नेपालको कफी विश्व बजारमा “उच्चस्तरको” भएसँगै नेपालका लागि नयाँ अवसरहरू पनि आएको खनाल बताउछन्।

२०३२ सालमा गुल्मीबाट सुरु भएको कफी खेती अहिले देशको मध्यपहाडी क्षेत्रका सबैजसो जिल्लामा फैलिसकेको बोर्डको भनाइ छ।

नेपालमा उत्पादित कफीको मुख्य बजार युरोप र अमेरिका हो।

चिया तथा कफी विकास बोर्डका अनुसार ती देशवाट वार्षिक ८ हजार मेट्रिक टन नेपाली कफी माग हुदै आए पनि उत्पादन भने त्यसको तुलनामा निकै न्यून रहने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *