काठमाडौं : देशमा कफीको इतिहास ७८ वर्ष पुरानो छ । हिरा गिरी भन्ने जोगीलाई तत्कालीन समयमा नेपालमा कफीको बोट भित्र्याएको श्रेय जान्छ । बर्मामा जागिर गर्ने क्रममा गिरीले १९९५ सालमा बर्माबाट अरेबिया जातको बोट गुल्मीको आपचौरमा रोपेका थिए । त्यही बोटबाट आज नेपालको ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ । हाइल्यान्ड अर्गानिक कफी कम्पनीका अध्यक्ष कृष्ण घिमिरेका अनुसार त्यही बेलादेखि गुल्मी जिल्लाबाट कफी फैलिएको हो ।

उहाँका अनुसार गिरीले भित्र्याएको कफीको बोटले २००१/२००२ सालतिर प्रचुर कफी फलेका थिए । त्यसपछि स्थानीय किसान पनि हौसिए । तैपनि २०२५ सम्म किसानलाई पात खाने कि फल खाने भन्ने चेतनासम्म थिएन । २०३० सालमा गुल्मीमा व्यावसायिक खेती सुरु भयो । ‘किसानको सहभागितामा २०३३ सालदेखि गुल्मीमा कफीको व्यावसायिक खेती सुरु भयो,’ घिमिरेले भन्नुभयो, ‘२०३८ सम्म व्यावसायिक रूपमा उत्पादन भए पनि बजार अभावले किसानले ठूलै समस्या व्यहोर्नु पर्‍यो ।’ राजा वीरेन्द्र २०३९ मा गुल्मीको भ्रमण गर्ने क्रममा गुल्मीलाई कफी क्षेत्र घोषणा गरेका थिए । २०३६ मा आएर गुल्मीमा सुख्खा चेरीको प्रशोधन सुरु भयो । नेपालमै पहिलो पटक ‘नेपाल कफी कम्पनी’ दर्ता गरी कफीको प्रशोधन गर्ने घिमिरे नै हुन् । कफी भुटेर खान सिकाउने श्रेय पनि घिमिरेलाई जान्छ ।

कफी तथा चिया विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमकाअनुसार कफीको इतिहास इथोपियाबाट सुरु भएको मानिन्छ । १८औं शताब्दीमा इथोपियाको जंगलमा बाख्राले सधै एक प्रकारको पात र फल खाएर दिनदिनै मोटाउँदै गएको र फुर्तिलो बन्दै गएको फेला पर्‍यो । अरु किसानको बाख्रा दुब्लाए पनि त्यो पात/दाना खाने बाख्रा हृष्टपुष्ट हुनुको रहस्य किसानले खोतल्न थाले । पछि वैज्ञानिकले उक्त फल कफी भएको भनेर पत्ता लगाएका थिए ।
घिमिरेकाअनुसार २०५५ देखि नयाँ पार्चमेन्ट कफीको प्रशोधनको सुरुवात भयो । हलिङ, रोस्टिङ र ग्रान्डिङ गर्ने काम त्यही वर्षदेखि सुरु भएको थियो । घिमिरे आफैंले वार्षिक ६ सय कफी दाना (बिन्ज) उत्पादन गर्छन् ।

नेपालमा हाल २२ वटा जति कफीको उद्योग छन् । गुल्मीका साथै पाल्पा, स्याङ्जा, अर्घाखाँची, लम्जुङ, तनहुँ, कास्की, ललितपुर, मकवानपुर, काभे्र, नुवाकोट, इलाम, पाँचथर, प्यूठानलगायत ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुन्छ । समुद्रीसतहको आठ सयदेखि १४ सय मिटरको उचाईमा कफीको उत्पादन हुन्छ । स्याङ्जाले कफी उत्पादनमा सबैलाई उछिनेको छ ।

नेपालमा अरेबिया जातको कफी उत्पादन हुन्छ । यो वर्ष ६ सय ३४ मेट्रिक टन कफी उत्पादन भएको छ । अघिल्लो वर्षसम्म नेपालमा वार्षिक २९ करोड ७५ लाख मूल्यबराबरको चार सय २५ टन कफी उत्पादन भएको थियो । यसमध्ये करिब ५० प्रतिशत कफी जापान, कोरिया, अस्ट्रेलिया, जर्मनी, अमेरिकालगायत निर्यात हुन्छ । नेपाली कफी उच्च गुणस्तरको हुँदा अन्तर्राष्ट्रिय बजारमा माग उच्च छ । ‘उत्पादनमा वृद्धि गर्न नसकिँदा स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारको मागलाई सम्बोधन गर्न सकिएको छैंन’, घिमिरे सुनाउनुहुन्छ ।

कफी खेती गर्न ठूलो जग्गा आवश्यक पर्छ । ७५ रोपनीभन्दा बढी जग्गामा हदबन्दी पनि कफी खेती विस्तार अवरोध हो । जंगल क्षेत्र प्रयोग गरी उत्पादनमा वृद्धि गर्न सक्ने सम्भावना भए पनि सरकारले यस्तो उत्पादक कार्यमा चासो दिएका छैनन् । कार्यकारी निर्देशक गौतमकाअनुसार आयातित कफीले स्थानीय कफीको बजार बिगारिरहेका छन् । आयातित कफीलाई नेपाली कफी भनेर ब्रान्डिङ गरी बजारमा ल्याउने प्रवृत्तिका कारण कफी उत्पादकले उचित मूल्य पाउन कठिन भएको छ । भारतीय किसानको तुलनामा स्वदेशी कफी उत्पादन लागत झन्डै तेब्बर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *