तम्घास : गुल्मी र कफीको साइनो धेरै घनिष्ट छ। साच्चै भन्दा पर्यायवाची छन्। गुल्मीको नाम सुन्दै कफी उच्चारण गर्न छुटाउँदैनन्। जिल्ला भित्रिने जोसुकैको चाहना गुल्मीको अर्गानिक कफीको स्वाद लिने हुन्छ। जिल्लाभित्र थुप्रै धार्मिक एवं पर्यटकीयस्थल भए पनि कफीले सबैको शिर उचो बनाएको छ। गुल्मीलाई कफी खेतीको पकेट क्षेत्र पनि भनिन्छ।

कफीको इतिहास

करिब ८० वर्ष अगाडि स्थानीय हिरा गिरीले बर्माबाट ल्याएर कफीको बिरुवा मुसिकोट नगरपालिका ५ आँपचौरमा रोपेका थिए। बारीमा फल्यो। तर गाउँलेलाई के हो भन्नेबारे जानकारी भएन। राजा वीरेन्द्र २०३८ सालमा जिल्ला भ्रमणकै क्रममा आँपचौर पुगेर कफीको अवलोकन गरेको इतिहास बुढापाकाहरू सुनाउँछन्। त्यसपछि कफी भन्ने पुष्टि भएको हो। सोही ठाउँमा व्यावसायिक कफी खेती गर्न उनले नै किसानलाई प्रोत्साहन गरेका थिए।

स्थानीयले राजा वीरेन्द्रसँग कफी प्रवद्र्धन कार्यक्रमको माग राखे। सोहीअनुसार २०४२ सालमा नेपालमा पहिलो पटक आँपचौरमै कफी विकास केन्द्रको स्थापना भयो। सोही ठाउँमा कफी कुलोको समेत निर्माण गरिएको थियो। उत्पादन राम्रो हुँदै गएपछि जिल्लाका अन्य स्थानमा कफीखेती विस्तार भयो।

जिल्लाकै सबैभन्दा धेरै कफी खेती मुसीकोट नगरपालिकामै हुन्छ। कफी विज्ञका अनुसार गुल्मी नेपालमै धेरै कफी उत्पादन हुने जिल्ला हो। जिल्ला भित्रिने पाहुनालाई कफीले नै स्वागत गर्ने गरिन्छ। कफीको स्वाद लिन विभिन्न ठाउँबाट पाहुना गुल्मीका होटल तथा रेस्टुरेन्टसम्म पुग्छन्। जिल्लाबाट फर्किनेले कफी उपहारको रूपमा लैजाने परम्परा नै बनेको छ।

अधिकांश समय मौसम चिसो हुने भएकाले पनि कफीको माग बढ्दो छ। ‘गुल्मीमा आइसकेपछि कफी नखाई कसरी फर्कनु ? ’ केही समयअघि पहिलो पटक तम्घास घुम्न आएका काठमाडौंका महेन्द्र सिंहले भने, ‘गुल्मेली कफीको स्वाद लिने ठूलो इच्छा थियो। पूरा भयो।’ उनीजस्तै धेरै पाहुनाको पहिलो धोको गुल्मेली कफीको स्वाद लिने हुन्छ।

के छ हालको अवस्था ?

२०४२ सालमा स्थापना भएको कफी विकास केन्द्रले कफीका बिरुवा र बीउ उत्पादन गरिरहेको केन्द्रका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बद्रीप्रसाद पौडेलले बताए। ‘३३ वर्षयता निरन्तर कफीको बीउ र बिरुवा उत्पादन गरिरहेका छौं’, उनले भने, ‘कफीको माग धेरै छ। तर, उत्पादन गर्ने ठाउँ सानो छ।’ पछिल्लो समय कफीको बीउ र बिरुवाको माग बढ्दै गएकाले उत्पादन गर्ने ठाउँको अभाव देखिएको उनले गुनासो गरे। नर्सरीमा बिरुवा उत्पादन गरे पनि अन्यत्र जिल्लामा लैजान यातयातको असुविधा छ।

बीउको माग बढी हुने गरेको उनले जानकारी दिए। प्रतिबिरुवा १५ रुपैयाँमा बिक्री गर्ने गरिएको उनी बताउँछन्। आर्थिक वर्ष ०७४/०७५ मा धनकुटामा ५० किलो र काठमाडौंमा ५० किलो कफीको बीउ निर्यात गरिएको केन्द्रले जनाएको छ। यसका साथै १२ देखि १४ हजार कफीका बिरुवा बाग्लुङ, रुकुम, स्याङजालगायत जिल्लामा निर्यात भएको छ। हाल करिब ३७ रोपनी क्षेत्रफल जग्गामा केन्द्रले कफीका बिरुवा र बीउ उत्पादन गरिरहेको छ।

रुरु गाउँपालिका–४ बलेटक्सार भण्डारीडाँडामा पनि कफी अनुसन्धान कार्यक्रम सञ्चालन हुँदै आएको छ। कफी खेतीमा देखिएका समस्या पहिचान गरी समाधान गर्ने काम भइरहेको कार्यक्रम संयोजक एवं बरिष्ठ वैज्ञानिक कृष्णबहादुर थापाले जानकारी दिए। नेपालबाहेक अन्यत्रै भएका कफीको जात ल्याएर वंश संरक्षण गर्ने काम भइरहेको उनले जानकारी गराए।

अन्तर्राष्ट्रिय बजारमा गुल्मेली कफी

हाल जिल्ला सदरमुकाम तम्घासस्थित जिल्ला कफी सहकारीमार्फत कफी खरिद गर्ने र प्रशोधन गरी बिक्री गर्ने काम भइरहेको छ। रुरु गाउँपालिकाको बलेटक्सारमा पनि कफी संघ स्थापना गरी बिक्रीवितरण भइरहेको संघले जनाएको छ। आर्थिक वर्ष ०७४/०७५ मा जिल्ला कफी सहकारी संघ गुल्मी तम्घासबाट ६ टन कफी विभिन्न जिल्ला र विदेशमा निर्यात भएको संघका व्यवस्थापक युवराज आचार्यले जानकारी दिए। ‘विदेशमा गुल्मेली कफीको माग बढी छ’, उनले भने, ‘उत्पादन कम छ।’

उनका अनुसार स्थानीय कफी राम्रो र स्वादिष्ट हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको माग बढ्दै गएको हो। सहकारीले प्रतिकिलो चार सय ५० रुपैयाँमा किसानबाट दाना खरिद गर्ने र प्रशोधन गरी आठ सय रुपैयाँमा बिक्री गर्ने गरेको जानकारी दिए। अघिल्लो वर्ष उक्त सहकारीमार्फत झन्डै ५० लाख रुपैयाँको कफी बिक्री भएको छ। त्यसमध्ये अधिकांश विदेश निर्यात गरिएको थियो।

यस्तै, रुरु गाउँपालिकास्थित कफी सहकारी संघ बलेटक्सारबाट १२ टन कफी बिक्री भएको सचिव कृष्णप्रसाद पन्थले जानकारी दिए। उनका अनुसार झन्डै ६२ लाख बराबर कफी बिक्री भएको छ। पन्थले अन्तर्राष्ट्रिय बजार मागअनुसार कफी निर्यात गर्न नसकिएको बताए। ‘उत्पादन कम छ’, उनले भने, ‘मागअनुसार पठाउन सकिरहेका छैनौं।’ रुरु र छत्रकोट गाउँपालिकाबाट पनि कफी उत्पादन, प्रशोधन र खरिदबिक्री भइरहेको उनले बताए। गुल्मीको कफी जापान, कोरिया र फ्रान्स निर्यात हुँदै आएको छ। काठमाडौं, बुटवल, बाग्लुङलगायत विभिन्न मेला महोत्सवमा समेत गुल्मेली कफीको बिक्री राम्रै हुन्छ।

साबिकको कृषि विकास कार्यालय गुल्मीका अनुसार जिल्लामा दुई सय पाँच हेक्टर जमिन कफी खेतीका लागि योग्य भए पनि हालसम्म ९२ हेक्टरमा मात्रै कफी खेती हुँदै आएको छ। सत्यवती गाउँपालिका केन्द्र खैरेनीमा हाल कफी प्रशोधन केन्द्र छ। उक्त केन्द्रले कफी खरिद गर्ने र प्रशोधन गरी सहकारीमार्फत निर्यात गर्ने गरिरहेको छ।

स्थानीय सरकारको योजना

कफीको उद्गमस्थल मुसिकोट नगरपालिकालाई कफी हबको रूपमा विकास गर्न लागिएको नगर प्रमुख सोमनाथ सापकोटाले बताए। ‘हाम्रो नगरपालिका कफीको उद्गमस्थल हो’, उनले भने, ‘नगरलाई कफी हबको रूपमा अगाडि बढाउने योजना छ।’ कफीलाई प्रमुख नगदेबालीको रूपमा विकास गरी नीति तथा कार्यक्रम ल्याएको सापकोटाले सुनाए। उनका अनुसार हाल नगरभित्र झन्डै पाँच सय किसानले कफी उत्पादन गरिरहेका छन्। उनीहरूले मागलाई धान्न सकिरहेका छैनन्। कफी खेतीतर्फ आकर्षण बढाउन एक सय बिरुवा रोपेका किसानलाई दश हजार रुपैयाँ अनुदान दिने कार्यक्रम रहेको सापकोटाले बताए।

नगरपालिकाले आगामी वर्षमात्रै ५० हजार कफीका बिरुवा उत्पादन गर्ने लक्ष्य लिएको छ। पछिल्लो समय नगरपालिकाले अनुदान तथा राहत दिई सक्रिय किसानलाई बनाउन चालेको छ। कफीको माग बढ्दै गएको र किसानको आय वृद्धि गर्ने उद्देश्यले कफीखेतीलाई प्राथमिकतामा राखिएको उपमेयर कमला शर्माले जानकारी दिइन्। मुसिकोटका सबै वडामा कफीका बिरुवा र कफी उत्पादन गर्न सक्रिय भई अगाडि बढाउने सोच रहेको उनले बताइन्।

किसानको जिवनशैलीमा परिवर्तन ल्याउन मुसिकोट नगरलाई कफी हब बनाउन लागिएको छ। कफी खेतीका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गुल्मीमा उत्पादित कफीको माग विदेशमा पनि बढ्दै गएको अवस्थामा मुसिकोट नगरपालिकालाई कफी हब बनाउने योजना अगाडि सारिएको हो।

जिल्लाको पश्चिम क्षेत्रस्थित मालिका गाउँपालिकाले पनि कफी उत्पादनमा जोड दिएको छ। यस वर्ष कफी उत्पादनका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलले जानकारी दिए। उनका अनुसार पालिकाका अर्जे, घमिर र मर्भुङमा कफीका बिरुवा रोप्ने कार्यक्रम छ। कफी उत्पादनलाई इस्मा गाउँपालिकाले पनि प्राथमिकतामा राखेको छ।

इस्माले तीन लाख रुपैयाँ बजेट विनियोजन गरी पालिकाका रजस्थल, दोहोली र पालुखालाई पकेट क्षेत्रको रूपमा पहिचान गरी कफीका बिरुवा रोप्ने कार्यक्रम बनाएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार हाल १ नम्बर वडामा कफीको नर्सरी निर्माण गरिएको छ। धुर्कोट गाउँपालिकाले यसै वर्ष कफी खेतीका लागि एक लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले सबै वडामा कफी उत्पादन गर्ने योजना रहेको बताए।

रुरु गाउँपालिकाले पनि कफी खेतीलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको छ। अध्यक्ष निलकण्ठ गौतमले सबै वडामा व्यावसायिक कफी खेती गर्ने गरी कार्यक्रम बनाएको जानकारी दिए। ‘सबै वडामा कफी राम्रो उत्पादन हुन्छ’, गौतमले भने, ‘उत्पादन बढाउने गरी कार्यक्रम बनाएका छौं।’ उनका अनुसार गाउँपालिकामा किसानले अहिले पनि कफी खेती गरिरहेको जनाउँदै आगामी वर्ष कफीको उत्पादन दोब्बर बनाउने योजना छ।

कालीगण्डकी गाउँपालिकाले कफीखेतीमा बजेट विनियोजन गरी कार्यक्रम सुरु गर्ने योजनामा रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताए। उनले पालिकाका फोक्सिङ, जयखानीलगायत ठाउँमा कफीखेतीको सम्भावना रहेको बताए।

कफी उत्पादनलाई जिल्लाका सत्यवती, चन्द्रकोट, गुल्मीदरवार, छत्रकोट र रेसुंगा नगरपालिकाले समेत कार्यक्रम बनाएर अगाडि बढिरहेका छन्। यसै वर्षदेखि कृषि क्षेत्रको केही रकम कफी कार्यक्रमका लागि विनियोजन गरेको पालिकाले जनाएका छन्। सम्भावित ठाउँको पहिचान गरी किसानलाई कफी खेतीमा आकर्षण गर्न सके करौडौं रकम जिल्ला भित्रिन सक्ने स्थानीय बताउँछन्।

राम्रो सम्भावना भएर पनि कफी विज्ञको अभावले किसान कफी खेतीमा आकर्षण हुन सकेका छैनन्। कफीखेतीमा किसानको आकर्षण बढाउन सके जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ। नेपाल सरकारले गुल्मीलगायत ६ जिल्लालाई कफी जोनको रूपमा घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published.