काठमाडौं — विदेशी मुद्रा आर्जनको गतिलो स्रोत बन्दै गएको नगदेबाली कफीमा पहिलोपटक सिन्दुरे रोग फेला परेको छ ।

एकपटक रोपेपछि ५ दशकसम्म फल दिने भएकाले किसानको पेन्सन भन्न थालेको कफीमा नयाँ रोग देखिएपछि खेती गर्ने चिन्तित भएका छन् । रोगका कारण सम्बद्ध विज्ञले बाहिरबाट बिरुवा नल्याउन आग्रह गरेका छन् । यसबारे पोखराबाट लालप्रसाद शर्मा, गुल्मीबाट घनश्याम गौतम र स्याङ्जाबाट प्रतीक्षा काफ्ले लेख्छन् :

देशभरका कफी किसानलाई सेतो गबारोले सताइरहेका बेला नेपालमै पहिलोपटक कफीमा उपचारै नहुने सिन्दुरे रोग देखिएको छ । सुरुमा श्रीलंकामा देखिएको सिन्दुरेले कफी सखाप बनाएको थियो । अब यता पनि त्यस्तै हालत हुने हो कि भन्ने चिन्ता किसानमा छ ।

गुल्मीको बलेटक्सारस्थित कफी अनुसन्धान केन्द्रका अनुसार ललितपुर, मकवानपुर, कास्की र स्याङ्जामा सिन्दुरे देखिएको छ । गुल्मीमा त्यसलाई थप भित्रन नदिन केन्द्र र स्थानीय प्रशासनले बाहिरबाट कुनै बोटबिरुवा ल्याउन प्रतिबन्ध लगाएको छ ।

पश्चिमाञ्चलमा सबैभन्दा बढी कफी उत्पादन हुने स्याङ्जाका अधिकांश बगैंचामा सिन्दुरे देखिएको छ । कास्कीको हर्पन, ढिकुरपोखरी, हंसपुर, बेगनास, निर्मलपोखरीलगायत पकेट क्षेत्रमा पनि यो रोग देखा परेको जिल्ला कफी उत्पादक संघका अध्यक्ष विश्वबन्धु पोखरेलले बताए ।

‘एकपटक रोपेपछि वर्षौंसम्म फल दिइरहने भएकाले कफी किसानको पेन्सन बन्दै गएको थियो,’ उनले भने, ‘तर उपचारै नहुने रोग भित्रिएपछि सबै सखाप हुन्छ कि भन्ने चिन्ता लागेको छ ।’

आफ्नो र अन्य किसानको संकलन गरी वार्षिक ७ लाख रुपैयाँसम्म कमाउने बेगनासका अर्जुन लम्सालले रोग नियन्त्रण नभए निकै समस्या पर्ने बताए । ‘पछिल्लो समय राम्रो आम्दानी हुन थालेपछि अन्य किसान पनि कफी खेतीमा आकर्षित भए,’ उनले भने, ‘रोग लागेको दु:खी तुल्याएको छ । सरकारले रोकथामका लागि पहल गर्नुपर्‍यो ।’

कास्की जिल्ला कफी सहकारी संघका अध्यक्ष आनन्द सुवेदीले रोग देखिएका बिरुवा जरैदेखि उखेलेर जलाउने वा पुर्नुपर्ने बताए । ‘कफीले रोजगार, उद्यम र विदेशी मुद्रा आर्जनमा सहयोग पुर्‍याउन थालेको थियो,’ उनले भने, ‘यस्तो बेलामा देखिएको सिन्दुरेले अन्योलमा छौं ।’

सिन्दुरे एक प्रकारको हेमिलेइया भास्टाट्रिक्स नामको ढुसीबाट लाग्ने रोगविज्ञ वैज्ञानिक विजय उपाध्यायले बताए । यसले वर्षैभरि कफीमा आक्रमण गर्ने भए पनि तापक्रम र आद्रता बढी हुने समय साउनदेखि कात्तिकसम्म प्रकोपको रूपमा फैलन्छ ।

यसका जीवाणु हावापानी, किरा, पशुपक्षी र मानिसको माध्यमबाट कफीको बोटमा सर्छ । सुरुमा पातको पछाडिपट्टि पहेंलो देखिने, बिस्तारै ढुसी लागेर सबै पात पहेंलो भएर झर्ने र अन्तिममा बोट टुप्पाबाट मर्दै जाने यसको लक्षण हो । रोग २/३ महिनाअघि मात्रै देखा पर्न थालेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालयका प्रमुख प्रेम आचार्यले बताए ।

स्याङ्जा पुतलीबजार नगरपालिका १३ का किसान बोधराज अर्याल आफ्नो ७० रोपनीको कफी बगैंचामा सिन्दुरे देखिएपछि चिन्तामा छन् । ‘कसरी समाधान गर्न सकिन्छ भन्ने उपायको खोजीमा छौं,’ उनले भने, ‘समयमै रोक्न नसके बर्बादै हुने भयो ।’

६/७ महिनापहिले एक दुई बोटमा फाट्टफुट्ट देखेपछि परीक्षण गरिएको र पछि सिन्दुरे भएको जिल्ला कृषि कार्यालय प्रमुख तेजप्रसाद दवाडीले बताए । किसानलाई बोटहरू सरसफाइ, काँटछाँट, घामपानी छिर्ने गरी उहारो बनाउने, अन्य बोटबिरुवा नलगाउनेलगायतको सुझाव दिइएको उनले बताए ।

विज्ञले परीक्षण गरे पनि प्रमाणित नगरेको जिल्ला कफी संघकी व्यवस्थापक माया तिवारी बताउँछिन् ।

केन्द्रमा सुरुमै सतर्कता अपनाइएको वरिष्ठ कृषि वैज्ञानिक कृष्णबहादुर थापाले बताए । ‘श्रीलंकामा सबै कफी सखाप पारेको छ,’ उनले भने, ‘यहाँ पनि देखएकाले सतर्कता अपनाउनुपर्छ ।’ कृषि विभागले कफी उत्पादन भइरहेका ४२ जिल्लामा सतर्कता अपनाउन परिपत्र गरेको छ । केन्द्रले रोग फैलन नदिन कृषि विकास समितिको सिफारिसबिना कुनै पनि कफीका बोट, बिरुवा, पातलगायत नभित्र्याउन निर्देशन गरेको छ । त्यसका लागि गुल्मीको मुख्य प्रवेशद्वार रिडीमा प्रहरीले निगरानी गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

कृषि कार्यालय र स्थानीय प्रशासनको समन्वयमा बाहिरी जिल्लाबाट कफीका बिरुवासहित अन्य सामान ल्याउन नपाइने किसानलाई अनुरोध गरिएको वरिष्ठ कृषि विकास अधिकृत चेतनारायण पाण्डेले बताए । यहाँका बोटमा रोग भए नभएको पनि अनुसधन सुरु गरिएको उनले बताए ।

रोग प्रतिरोधी कफीका जात क्याटिमोर लगाउने, बगैंचामा छहारी घटाउने र प्रकाश पुर्‍याउने, मल उचित मात्रामा प्रयोग गर्ने, काटछाँट गर्ने, चोर हाँगा, मरेका र तल लत्रेका हाँगा हटाउनुपर्ने उनले बताए । आचार्यका अनुसार निलोतुथो र चुनाको झोल (बोर्डो मिक्चर) लाई साप्ताहिक रूपमा छर्कनेबाहेक रोगबाट बचाउने अरू कुनै उपाय छैन ।

अर्गानिक पद्धति नगर्दा पनि समस्या हुने तर रसायन प्रयोगको सिफारिस गर्न नमिल्ने उनले बताए । ‘बढी सेपिलो, छहारी भएको ठाउँमा रोग धेरै देखिएको छ,’ उनले भने, ‘६० प्रतिशत छहारी र ४० प्रतिशत घाम भएको ठाउँमा कफी रोप्दा उपयूक्त हुन्छ ।’

कृषि अनुसन्धान परिषद् (नार्क), कफी तथा चिया शाखा, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र हेल्भेटासको टोली अहिले जिल्लाजिल्लामा सिन्दुरे अनुसन्धानका लागि खटिएको छ ।

हावापानी, माटो र उचाइका दृष्टिले व्यावसायिक अर्गानिक कफी खेतीका लागि पश्चिमाञ्चलका विभिन्न ११ जिल्ला उर्वरभूमि बन्दै गएका छन् । यी जिल्लाका १७ हजारभन्दा बढी किसानले करिब १ हजार हेक्टर क्षेत्रफलमा कफी रोपेका छन् । नेपालमै पहिलोपटक गुल्मी आँपचौरका हीरा गिरीले विसं १९९५ मा बर्माबाट केही कफीका बिरुवा ल्याई रोपेका थिए ।

त्यसपछि फाट्टफुट्ट लगाउन सुरु गरिएको कफी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, तनहुँ, लमजुङ, बागलुङ, गोरखा, म्याग्दीमा व्यावसायिक रूपमा फैलिएको छ । मध्यपहाडी अन्य ३० जिल्लामा पनि विस्तार भइसकेको छ ।

गत वर्ष नेपालभर ४ सय ६३ मेट्रिक टन ग्रिनविन कफी उत्पादन भएकोमा पश्चिमका ११ जिल्लामा मात्र ४० प्रतिशत भएको थियो । स्याङ्जा, कास्की, पर्वत, गुल्मीलगायतका जिल्ला अग्रणी स्थानमा छन् । बर्सेनि ७ करोड मूल्य बराबरको कफी विदेश निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष २०७१/०७२ मा यस क्षेत्रमा सबैभन्दा बढी स्याङ्जामा ५० दशमलव ५० मेटन, कास्कीमा ३६, गुल्मीमा ३५, पाल्पामा २५, पर्वतमा १८ मेटन पार्चमेन्ट कफी उत्पादन भएको थियो । यस क्षेत्रमा सबैभन्दा बढी स्याङ्जामा ३५ सय किसान कफी खेतीमा आवद्ध छन् । उत्पादित कफी विशेषगरी जापान, कोरिया, अमेरिकामा मुख्य निर्यात हुन्छ । नेपालमा उत्पादन हुने कफी अराबिका जातको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *